काठमाण्डौ । नेपाली कांग्रेसको सभापतिबाट अपदस्थ भएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान अवस्था अस्थायी रहेको उल्लेख गर्दै पार्टी कार्यकर्तालाई धैर्य गर्न आग्रह गरेका छन्। पत्नी डा. आरजु देउवा राणाको ६३औँ जन्मदिनको अवसरमा महाराजगञ्जस्थित निवासमा पुगेका सीमित नेता–कार्यकर्तासँग उनले कठिन समय बितेर जाने विश्वास व्यक्त गरेका हुन्।
देउवानिकट नेताहरूका अनुसार पार्टीभित्र आकस्मिक रूपमा विकसित घटनाक्रम र टिकट वितरणको हतारोले आफूहरू स्तब्ध बनेको सन्देश देउवाले दिएका छन्। अहिले चुनावअघि कुनै निर्णायक कदम चाल्ने अवस्था नरहेकाले चुनावपछिको राजनीतिक समीकरणलाई महत्वका साथ हेर्ने संकेत उनको भनाइबाट झल्किन्छ।
देउवा स्वयं अन्तिम पटक डडेलधुराबाट निर्वाचन लड्ने तयारीमा थिए भने आरजु देउवा राणा कैलाली–५ बाट उम्मेदवार बन्ने प्रक्रियामा थिइन्। तर सभापति गगन थापाले दुवैलाई टिकट नदिएपछि उनीहरू यसपटकको निर्वाचनबाट अलग बसेका छन्। पार्टी विभाजनले कांग्रेसलाई कमजोर बनाउने निष्कर्षसहित देउवाले सबै घटनाक्रम मौन रूपमा सहँदै आएको उनीसँग भेट्ने नेताहरू बताउँछन्।
विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भए पनि चाँडै नियमित महाधिवेशन हुनुपर्ने र त्यही प्रक्रियाबाट राजनीतिक ‘हिसाब–किताब’ हुने देउवा पक्षको बुझाइ छ। वरिष्ठ नेताहरूलाई पन्छाएर पार्टी सञ्चालन सम्भव नहुने उनीहरूको दाबी छ।
देउवानिकट नेताहरूका अनुसार व्यक्तिगत रूपमा देउवामा प्रतिशोधको भावना देखिँदैन, तर पछिल्ला राजनीतिक घटनाले उनलाई गहिरो चोट दिएको अनुभूति स्पष्ट देखिन्छ। पार्टी फुटाएर होइन, नियमित महाधिवेशनमार्फत बहुमत जुटाएर अघि बढ्नुपर्ने मत देउवा समूहभित्र बलियो बन्दै गएको बताइन्छ।
यसैबीच, केही नेताले टिकट प्राप्त गर्न आत्मसमर्पण गरेको आरोप लागे पनि देउवाले उम्मेदवार बनेकाहरूलाई चुनाव लड्न अनुमति दिएको खुलेको छ। डा. प्रकाशशरण महत, विजय गच्छदार, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्कीलगायत देउवानिकट नेताहरू चुनावी मैदानमा रहेकाले फागुन २१ अघि कांग्रेसभित्र ठूला घटनाक्रम नदेखिने आँकलन गरिएको छ।


