नेपाल स्पोर्ट्स समिट कमिटीको आयोजनामा माघ २२ गते काठमाडौँमा नेपाल स्पोर्ट्स समिट आयोजना हुने भएको छ । आयोजकका अनुसार समिटमा कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय प्रतिनिधि, कर्पोरेट क्षेत्रका नेतृत्व, सरकारी अधिकारी, खेल प्रशासक, सञ्चारकर्मी तथा विभिन्न देशका सरोकारवाला एकै स्थानमा सहभागि हुनेछन् ।
समिटमा नेपालको खेल क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने नीति निर्माण, खेल पूर्वाधार, सञ्चार र प्रसारण, डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा केन्द्रित पाँच उच्चस्तरीय प्यानल छलफल सत्र सञ्चालन गरिनेछ ।
प्यानल छलफलमा खेल कूटनीति, खेल पूर्वाधार विकास, उदीयमान खेलहरूको प्रवर्द्धन, खेल सञ्चार तथा प्रसारणको भूमिका, साथै डिजिटल प्लेटफर्म र इन्फ्लुएन्सरमार्फत खेल कथावाचनजस्ता विषय समेटिने आयोजकले जनाएको छ ।
समिटका आयोजक आमिर अख्तरले यो समिट एउटा कार्यक्रम मात्र नभई खेल, कूटनीति, पर्यटन र आर्थिक विकासलाई जोड्ने राष्ट्रिय पहल भएको उल्लेख गर्नुभयो । अर्का आयोजक भास्कर राजकर्णिकारका अनुसार समिटको मुख्य उद्देश्य नेपाललाई विश्वस्तरीय खेल पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नु, अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु तथा खेल अर्थतन्त्रलाई मजबुत बनाउने दिगो साझेदारी विकास गर्नु हो ।


