काठमाण्डौ । रुकुमपूर्वमा शुक्रबारदेखि निरन्तर भइरहेको हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जम्दा सवारी साधन सञ्चालन हुन नसक्ने अवस्था बनेको हो।
सडक बन्द भएपछि विशेष गरी काठमाडौंबाट रुकुमपूर्व तथा रुकुमपश्चिमतर्फ गएका यात्रुवाहक बसहरू बाटोमै रोकिएका छन्। हिउँमा गाडी फसेपछि चिसो मौसममा यात्रुहरू समस्यामा परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार सूचना प्राप्त हुनासाथ उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक उमा शंकरप्रसाद यादवले जानकारी दिनुभयो। निरन्तर हिमपात भइरहेकाले उद्धार तथा हिउँ हटाउने कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक खुलाउन स्थानीय तहसँग समन्वय गर्दै काम भइरहेको छ। प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार फसेका यात्रुहरूको उद्धार र सडक सुचारु गर्न भूमे गाउँपालिकासँग समन्वय गरी जेसीबी तथा स्काभेटर पठाइएको छ।
हाल रुकुमपूर्वका उच्च हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित भएको प्रशासनले जनाएको छ।


