Banner Nepal
दाङ–१ का बागी उम्मेदवार कुलप्रसाद केसी नेकपाबाट निस्कासित

काठमाण्डौ । दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कुलप्रसाद केसीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीबाट निस्कासन गरेको छ।

पार्टीका अनुसार केसीलाई उम्मेदवारी फिर्ता लिन र आधिकारिक उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिइएको थियो। तर उक्त निर्देशन पालना नगरेपछि उनीमाथि अनुशासनात्मक कारबाही गर्दै निस्कासन गरिएको हो।

केसी पार्टीको टिकटका आकांक्षी थिए। टिकट नपाएपछि असन्तुष्ट बनेका उनले दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। सो क्षेत्रमा नेकपाको आधिकारिक उम्मेदवार मेटमणि चौधरी रहेका छन्।

पार्टी निर्णय र निर्देशनविपरीत उम्मेदवार बन्ने, साथै त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक वा प्रचारक बन्ने कार्यलाई पार्टी अनुशासन विपरीत ठहर गर्दै कारबाही गरिएको नेकपाले स्पष्ट पारेको छ।

आगामी फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update