Banner Nepal
पार्टी निर्णय उल्लंघन गरेपछि नेकपाका दुई नेता निस्कासित

काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी निर्णय र निर्देशन विपरीत गतिविधि गरेको भन्दै नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई पार्टीबाट निस्कासन गरेको छ।

पार्टीका अनुसार सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइएको हो। उनी उक्त क्षेत्रमा पार्टीको आधिकारिक टिकटका आकांक्षी रहे पनि टिकट नपाएपछि बागी उम्मेदवार बनेका थिए।

नेकपाले सिन्धुली–२ बाट लेखनाथ दाहाल (राजन) लाई आधिकारिक उम्मेदवार बनाएको छ। लेखनाथ दाहालले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजय हासिल गरेका थिए।

बागी उम्मेदवार महेश्वर दाहाललाई समर्थन गरेको आरोपमा हरिबोल गजुरेलमाथि समेत कारबाही गरिएको पार्टीले जनाएको छ। पार्टी निर्णयविपरीत उम्मेदवार बन्ने, त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बन्ने कार्य पार्टी अनुशासन विपरीत ठहर गर्दै निस्कासन गरिएको नेकपाको भनाइ छ।

आगामी फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update