Banner Nepal
प्रधानमन्त्री ताकाइचीद्वारा संसद् विघटन, शक्ति सुदृढीकरणको प्रयास

जापानकी प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) निर्वाचन गराउने बाटो खुला गरेकी छन्। हालैका वर्षहरूमा कमजोर बनेको शासक दललाई पुनः बलियो बनाउने उद्देश्यसहित उनले आफ्नो उच्च लोकप्रियताको राजनीतिक लाभ लिन खोजेको विश्लेषण गरिएको छ।

तर, यस निर्णयका कारण सङ्घर्षरत अर्थतन्त्रलाई गति दिन र बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न लक्षित बजेटमाथिको छलफल तथा मतदान केही समयका लागि स्थगित हुने देखिएको छ।

गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीले पदभार सम्हालेको तीन महिना मात्रै भएको छ। छोटो अवधिमै करिब ७० प्रतिशत अनुमोदन दर कायम गर्नु उनको राजनीतिक उपलब्धिका रूपमा हेरिएको छ।

ताइवानसमर्थक अभिव्यक्तिपछि चीनसँग जापानको सम्बन्ध चिसिएको सन्दर्भमा, प्रधानमन्त्री ताकाइचीले रक्षा खर्च बढाउने धारणा अघि सारेकी छन्। यस क्षेत्रमै सैन्य प्रभाव कायम गर्न अमेरिका र चीनबीच प्रतिस्पर्धा बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सन्तुलनमा राख्नु पनि उनको चुनौती बनेको छ।

४६५ सदस्यीय तल्लो सदन विघटन भएसँगै मङ्गलबारदेखि १२ दिने औपचारिक चुनावी अभियान सुरु हुनेछ। सदनका अध्यक्ष फुकुशिरो नुकागाले विघटनको घोषणा गरेलगत्तै सांसदहरूले ‘बान्जाइ’ नारा लगाउँदै चुनावी तयारी प्रारम्भ गरेका थिए।

प्रधानमन्त्री ताकाइचीले प्रारम्भिक निर्वाचनको उद्देश्य शक्तिशाली तल्लो सदनमा शासक गठबन्धनको बहुमत विस्तार गर्नु रहेको स्पष्ट पारेकी छन्। सन् २०२४ को चुनावी पराजय र भ्रष्टाचार काण्डपछि कमजोर बनेको लिबरल डेमोक्रेटिक पार्टी र गठबन्धनसँग हाल तल्लो सदनमा झिनो बहुमत मात्र छ भने माथिल्लो सदनमा बहुमत नहुँदा विपक्षीको सहयोगमा निर्भर रहनुपरेको अवस्था छ।

विपक्षी दलहरूले आर्थिक कार्यक्रमका लागि आवश्यक बजेट ढिलाइ भएको भन्दै प्रधानमन्त्रीमाथि आलोचना गरिरहेका छन्। यसबारे प्रतिक्रिया दिँदै ताकाइचीले जनताले नै आफ्नो नेतृत्वको मूल्याङ्कन गर्ने अवसर यही निर्वाचन भएको बताएकी छन्।

कट्टर रूढीवादी धारणा राख्ने ताकाइचीले जापानलाई ‘बलियो र समृद्ध’ राष्ट्र बनाउने लक्ष्यसहित खर्च विस्तार, सैन्य संरचना मजबुत पार्ने र कडा आप्रवासन नीति आवश्यक रहेको उल्लेख गरेकी छन्। युवा मतदातामाझ उनको समर्थन बलियो देखिए पनि, एलडिपीमाथि लागेको राजनीतिक कोषसम्बन्धी विवादका कारण केही परम्परागत समर्थक मतदाताहरू अति–दक्षिणपन्थी उदाउँदा दलतर्फ आकर्षित हुन थालेका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update