Banner Nepal
आगजनीसहितको झडपपछि भक्तपुरको बाल सुधार गृह खाली

भक्तपुरस्थित बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

झडपपछि सुधार गृहमा रहेका १६२ जनालाई अन्यत्र स्थानान्तरण गरी परिसर खाली गराइएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी प्रकाश जगेबुका अनुसार एक समूहले अर्काे समूहलाई हेप्ने र कुटपिट गर्ने क्रम बढेपछि स्थिति नियन्त्रण बाहिर गई झडपको रूप लिएको हो।

घटनाका क्रममा सुधार गृहभित्र आगजनीसमेत भएको थियो। मध्यराति झडप भएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइतेको उद्धारका लागि सुधार गृहभित्र प्रवेश गर्न खोज्दा भित्र रहेका व्यक्तिहरूले ढुंगामुढा गरेपछि प्रहरी तत्काल प्रवेश गर्न नसकेको प्रहरीको भनाइ छ।

प्रहरीका एक अधिकृतका अनुसार उद्धार प्रयासकै क्रममा प्रहरीमाथि आक्रमण भएको र त्यसपछि सुधार गृहमा आगो लगाइएको थियो। उक्त सुधार गृहमा जम्मा १६४ जना रहेका थिए। आगजनीबाट भवन क्षतिग्रस्त भएपछि सबैलाई अन्यत्र सारिएको हो।

स्थानान्तरण गरिएका सबैलाई जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरअन्तर्गतका बाल सुधार निगरानी कक्षमा राखिएको डीएसपी जगेबुले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update