Banner Nepal
नेपाली कांग्रेसले माघ १६ मा जनकपुरमा मधेस सभा गर्ने

नेपाली कांग्रेसले माघ १६ गते मधेस सभा आयोजना गर्ने भएको छ। जनकपुरमा हुने उक्त सभालाई चुनाव केन्द्रित रणनीतिक कार्यक्रमका रूपमा लिइएको छ। पार्टीका एक पदाधिकारीका अनुसार कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई पूर्ण रूपमा परिचालन गरेर सभा गर्न लागिएको हो।

मधेस सभा आयोजनाबारे आज बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरी औपचारिक निर्णय गरिने तयारी छ। कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै देशका विभिन्न क्षेत्रमा यस्ता केन्द्रीय सभाहरू गर्ने योजना बनाएको छ।

सभापति गगन थापासहित शीर्ष नेताहरू माघ ११ गते मधेस पुग्ने कार्यक्रम छ। माघ १२ गते उनीहरू सर्लाही जानेछन्। सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका छन्।

विशेष महाधिवेशनमार्फत पुस ३० गते सभापति थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। उक्त कार्यसमितिका पदाधिकारीहरूले आज पदबहाली गर्ने कार्यक्रम तय गरिएको छ।

यसैबीच, आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ। बैठकले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सभापति गगन थापालाई तोक्ने निर्णय गर्ने सम्भावना रहेको बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update