गुल्मी–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकालले चुनावी अभियानमा माछामासु र रक्सी नखाने घोषणा गरेका छन्। अभियानका क्रममा भएको खर्च पारदर्शी बनाउने उद्देश्यसहित उनले एक रातको होटल बसाइँ र खानाको बिल सार्वजनिक गरेका छन्।
चुनावी प्रचारका क्रममा ढकाल हिजो साँझ गुल्मीको मालिका गाउँपालिका–सिमलटारी पुगेका थिए। सो स्थान गुल्मी क्षेत्र नम्बर २ अन्तर्गत पर्छ, जहाँ रास्वपाबाट गोविन्द पन्थि उम्मेदवार छन्। ढकाल, पन्थिसहित छ जनाको टोली बोलेरो गाडीमा यात्रा गर्दै सिमलटारीस्थित सिता होटल एन्ड रेस्टुरेन्टमा बास बसेको थियो।
ढकालले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडिओमार्फत एक रातको खर्च विवरण सार्वजनिक गर्दै आफूहरूसहित छ जनाले पूर्ण शाकाहारी खाना खाएको जानकारी दिएका छन्। सार्वजनिक गरिएको बिलअनुसार प्रतिव्यक्ति २०० रुपैयाँका दरले खाना खाँदा कुल १ हजार २०० रुपैयाँ खर्च भएको छ। यस्तै, ४ सय रुपैयाँ दरका तीन कोठाका लागि पनि १ हजार २०० रुपैयाँ तिरिएको छ भने चिया र खाजामा २२५ रुपैयाँ खर्च भएको देखिन्छ।
ढकालले सवारीसाधन भाडामा लिएर हिँड्दा दैनिक ३–४ हजार रुपैयाँ लाग्ने भए पनि कसैलाई तेल नबाँडिएको स्पष्ट पारे। उनले देशभरका रास्वपा उम्मेदवारलाई माछामासु, रक्सी र तेल वितरण नगरी सादगीपूर्ण ढंगले चुनाव लड्न सुझाव दिए।
अनुशासनको प्रसंग उठाउँदै ढकालले तोकिएको समयभन्दा चार मिनेट ढिला भएको भन्दै उम्मेदवार पन्थीलाई चार पटक उठबस गराएको बताएका छन्। पन्थीले पनि उक्त कुरा स्वीकार गरेका छन्। पन्थी पूर्व डीएसपी तथा अधिवक्ता हुन्।
ढकालले यसपटक गुल्मीमा रास्वपाले ‘क्लिन स्वीप’ गर्ने दाबी गर्दै आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धा झापा र चितवनसँग रहेको बताएका छन्।


