सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा बाँके मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा अभियोजन अघि बढाएको हो।
अख्तियारका अनुसार तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी, मालपोत अधिकृत अशोककुमार भट्टराई, तत्कालीन नायब सुब्बा ताराप्रसाद खनाल, साविक बेतहनी गा.वि.स.का तत्कालीन सचिव मानबहादुर बोगटी तथा नायब सुब्बा कर्णबहादुर पुनविरुद्ध मुद्दा दायर गरिएको छ। जग्गा हडप्ने उद्देश्यले संलग्न रहेको आरोपमा लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मीलाई पनि प्रतिवादी बनाइएको छ।
साविक बेतहनी गाविस–४ स्थित स्वर्गीय सुरता कुर्मीको नाममा रहेको जग्गा हकवाला नभएकाले प्रचलित कानुनअनुसार नेपाल सरकारको नाममा कायम हुनुपर्ने थियो। तर आपसी मिलेमतोमा झुटो फिल्ड मुचुल्का र गाविस सिफारिस तयार पारेर उक्त जग्गा लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मीको नाममा नामसारी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
जिल्ला अदालत हुँदै सर्वोच्च अदालतसम्मबाट उक्त जग्गा अपुताली भएको र दाबी गर्नेहरूको हक नपुग्ने ठहर भइसकेको थियो। अदालतका फैसलालाई समेत बेवास्ता गर्दै निजी बनाइएको भन्दै अख्तियारले कारबाही अघि बढाएको जनाएको छ।
अख्तियारले मुख्य अभियुक्तका रूपमा तत्कालीन मालपोत हाकिम केसीसँग २२ लाख ४२ हजार ७२० रुपैयाँ र मालपोत अधिकृत भट्टराईविरुद्ध २० लाख ८७ हजार २५९ रुपैयाँ बिगो दाबी गरेको छ।


