Banner Nepal
अमेरिकी ‘बोर्ड अफ पिस’ कार्यक्रममा बेलायत अनुपस्थित रहने

बेलायतले डाभोसमा आयोजना हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ हस्ताक्षर समारोहमा सहभागी नहुने निर्णय गरेको छ। विदेशमन्त्री यभेट कुपरले बिहीबार बेलायत उक्त कार्यक्रममा उपस्थित नहुने स्पष्ट पार्नुभयो।

राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय द्वन्द्व समाधानका लागि नयाँ संयन्त्र स्थापना गर्दै त्यसको चार्टरमा हस्ताक्षर गर्न डाभोसमा समारोह आयोजना गर्नुभएको हो। प्रस्तावित बोर्डमा स्थायी सदस्यताका लागि एक अर्ब अमेरिकी डलर तोकिएको बताइएको छ।

बिबिसीसँगको अन्तर्वार्तामा मन्त्री कुपरले समूहबारे अझै धेरै काम बाँकी रहेको उल्लेख गर्दै बेलायत प्रारम्भिक हस्ताक्षरकर्तामध्ये नहुने बताउनुभयो। उहाँका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने सम्भावना र युक्रेनप्रति उहाँले देखाएको व्यवहारले बेलायतलाई गम्भीर चिन्ता उत्पन्न गराएको छ। कुपरले कानुनी सन्धिले व्यापक विषय समेट्ने र पुटिनले युक्रेनमा शान्तिप्रति प्रतिबद्धता देखाएको कुनै ठोस संकेत नदेखिएको धारणा व्यक्त गर्नुभयो।

अहिलेसम्म स्पष्ट रूपमा परिभाषित नभएको उक्त समूहमा सामेल हुन विभिन्न विश्व नेतालाई निमन्त्रणा पठाइएको छ। सुरुमा गाजाको पुनर्निर्माणको निरीक्षण गर्ने उद्देश्य भए पनि चार्टरले भूमिकालाई सीमित नगरेको देखिन्छ, जसका कारण केही अमेरिकी सहयोगी देशहरू असन्तुष्ट भएका छन्। राष्ट्रपति ट्रम्पले पुटिनले सहभागिताका लागि सहमति जनाएको दाबी गर्नुभएको भए पनि क्रेमलिनले निमन्त्रणाको अध्ययन भइरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update