सरकारले २०८२ साल भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। काठमाण्डौस्थित सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा सडक खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैँकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो।
त्यसैगरी, मन्त्रीपरिषद् बैठकले गृहमन्त्री अर्याललाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी पनि प्रदान गरेको छ। यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिँदै आगामी निर्वाचनमा सहभागी हुने घोषणा गरेसँगै सरकारको प्रवक्ता पद रिक्त रहेको थियो।


