काठमाण्डौ । मतदातालाई निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी उपलब्ध गराउने उद्देश्यले निर्वाचन आयोगले आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।
निर्वाचनसम्बन्धी कुनै प्रश्न वा जानकारी आवश्यक परे टोल फ्री नम्बर ११०२ मा सम्पर्क गर्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगका अनुसार ‘कल सेन्टर’ मा हाल छवटा डेस्क स्थापना गरिएको छ, जसबाट एकैसाथ मतदाताका जिज्ञासा सम्बोधन गरिनेछ। कामको चाप बढेमा डेस्क संख्या थप्न सकिने व्यवस्था गरिएको छ।
शुभारम्भकै दिन गण्डकी प्रदेशबाट पहिलो फोन आएको उल्लेख गर्दै प्रवक्ता भट्टराईले लोकसेवा आयोगको यसअघि प्रकाशित परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ कि हुँदैन भन्ने प्रश्न आएको बताए। ‘कल सेन्टर’ का अधिकारीहरूले तोकिएकै मितिमा हुने परीक्षा आचारसंहिताका कारण प्रभावित नहुने स्पष्ट पारेका थिए।
आयोगका अनुसार ‘कल सेन्टर’ बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन तथा जिज्ञासा समाधान गर्न यो सेवा आजदेखि उम्मेदवार विजयी भई प्रमाणपत्र प्रदान नहुन्जेलसम्म निरन्तर सञ्चालनमा रहनेछ।

