काठमाण्डौ — सङ्घीय संसद् राष्ट्रिय सभाको १९औँ अधिवेशन सुरु भएको छ। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरको राष्ट्रिय सभाको पुरानो भवनमा बसेको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सभासद्हरूलाई स्वागत गर्नुभयो।
बैठकमा अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभयो। त्यसपछि लोकतन्त्रका लागि योगदान पुर्याउने सहिदहरूप्रति सम्मान प्रकट गर्दै मौन धारण गरिएको थियो।
बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ। विसं २००८ मा जन्मनुभएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० गते निधन भएको हो। उहाँ २०७० सालमा संविधानसभा सदस्य तथा २०८० सालमा राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो।
५९ सदस्यीय राष्ट्रिय सभा स्थायी सदनका रूपमा रहेको माथिल्लो सदन हो, जहाँ समाजका विभिन्न क्षेत्रका अनुभवी र प्रबुद्ध व्यक्तिहरूको सहभागिता रहन्छ। राष्ट्रिय सभाका सदस्यहरूको कार्यकाल छ वर्षको हुने व्यवस्था छ, जसअनुसार प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिन्छ।
हाल राष्ट्रिय सभामा नेकपा २५, नेपाली कांग्रेस १६, नेकपा एमाले नौ, जनता समाजवादी पार्टी तीन, लोकतान्त्रिक समाजवादी पार्टी एक, राष्ट्रिय जनमोर्चा एक तथा मनोनीत तीन सदस्य रहेका छन्। यही माघ ११ गते १९ जना नयाँ सदस्य चयनका लागि निर्वाचन हुने तय भएको छ। राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्नेछ।


