काठमाण्डौ — प्रतिनिधि सभा सदस्यका लागि मनोनयनको समय नजिकिँदै जाँदा नवलपुरमा दलका नेताहरूको दौडधुप तीव्र बनेको छ। दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा हालसम्म नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मात्र उम्मेदवार टुंग्याएका छन् भने अन्य दल आन्तरिक छलफलमै व्यस्त देखिएका छन्।
निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेले भागिरथ सापकोटा र नेकपाले लोकप्रसाद भुर्तेललाई उम्मेदवार बनाएका छन्। त्यस्तै, क्षेत्र नम्बर २ बाट एमालेले तिलक महत र नेकपाले गणेशमान महतोलाई उम्मेदवारको रूपमा अघि सारेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्षेत्र नम्बर १ बाट राजन गौतमलाई उम्मेदवार बनाउने लगभग निश्चित गरेको छ। क्षेत्र नम्बर २ मा भने डा. पुष्पमणि खराल, मनिस खनाल र दोमन भण्डारी गरी तीन जना आकाङ्क्षी देखिएका छन्।
नेपाली कांग्रेस भने लामो समयदेखि आन्तरिक विवादमा अल्झिँदा अहिलेसम्म उम्मेदवार छनोट गर्न सकेको छैन। क्षेत्र नम्बर १ मा चार र क्षेत्र नम्बर २ मा पनि चार जना आकाङ्क्षी देखिएका छन्। कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेका अनुसार क्षेत्र नम्बर १ बाट बालकृष्ण घिमिरे, अमृत भट्टचन, डा. शशाङ्क कोइराला र गजेन्द्रबहादुर आलेले दाबी प्रस्तुत गरेका छन्।
त्यसैगरी क्षेत्र नम्बर २ मा विष्णु कार्की, विष्णु लामिछाने, ओमबहादुर थापा र शङ्कर तिवारी आकाङ्क्षी रहेका छन्। उम्मेदवार चयनबारे छलफल जारी रहेको जनाउँदै महामन्त्री लामिछानेले आजै साँझसम्म टुंगो लाग्ने सम्भावना रहेको बताउनुभयो।
अघिल्लो निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ बाट कांग्रेसका डा. शशाङ्क कोइराला र क्षेत्र नम्बर २ बाट विष्णुकुमार कार्की निर्वाचित भएका थिए।


