Banner Nepal
काठमाडौँ उपत्यकामा ट्राफिक सप्ताह सम्पन्न, जनचेतना अभियान प्रभावकारी

काठमाण्डौ — काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियमप्रति नागरिकलाई सचेत गराउने उद्देश्यसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सप्ताह’ विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ।

‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ सात दिनसम्म सञ्चालन गरिएको अभियानको आज काठमाडौँ महानगरपालिका–२६ ठमेलमा विशेष कार्यक्रम गरी समापन गरिएको हो।

ट्राफिक सप्ताहका क्रममा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक गतिविधि, प्रचारप्रसार, सडक नाटक, सांस्कृतिक प्रस्तुति, रक्तदान कार्यक्रम, सवारी चालक तथा सहचालकका लागि प्रशिक्षण, आँखा शिविरलगायत विविध कार्यक्रम सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।

समापन समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चालक, यात्रु र पैदलयात्री सबै जिम्मेवार बनेमा मात्र सवारी दुर्घटना न्यूनीकरण सम्भव हुने बताउनुभयो। उहाँले सभ्य व्यवहारले समाजलाई पनि सभ्य बनाउने उल्लेख गर्दै सुरक्षित रूपमा घर फर्किने आशा परिवारले राख्ने कुरालाई सम्झेर सवारी सञ्चालन गर्न आग्रह गर्नुभयो।

महानिरीक्षक कार्कीले पैदलयात्रीलाई पनि जथाभाबी सडक पार नगरी सुरक्षित स्थानको प्रयोग गर्न सुझाव दिनुभयो। ट्राफिक प्रहरीको उपस्थिति मात्र पर्याप्त नभई नागरिक स्वयं सचेत भएर नियम पालना गरेमा दुर्घटना नियन्त्रण सम्भव हुने उहाँको धारणा थियो।

उहाँले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी भवन पुनर्निर्माण तथा प्रहरीका लागि सवारी साधन खरिदमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक सप्ताह सडक दुर्घटना न्यूनीकरण र सभ्य नागरिकको पहिचान स्थापित गर्ने लक्ष्यसहित आयोजना गरिएको बताउनुभयो।

सात दिनको अभियानबाट हजारौँ नागरिक ट्राफिक नियमबारे सचेत बनेको उल्लेख गर्दै उहाँले अब व्यवहारमा पनि नियम पालना हुने विश्वास व्यक्त गर्नुभयो। समापन कार्यक्रममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरूले ट्राफिक सचेतनासम्बन्धी सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update