Banner Nepal
रञ्जित तामाङ झापा–५ बाट नेकपाको प्रतिनिधित्व गर्दै चुनाबी  मैदानमा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार आफ्नै निवासमा बोलाएर तामाङलाई प्रतिनिधिसभा उम्मेदवारको टिकट प्रदान गरेका हुन्।

झापा–५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला नेकपाले स्थानीय र युवा अनुहार अघि सारेको हो। टिकट पाएको पुष्टि गर्दै तामाङले आफू जन्मेहुर्केको, पढेबढेको र राजनीतिक यात्रा सुरु गरेको क्षेत्रबाटै चुनावी प्रतिस्पर्धामा उत्रिन पाएकोमा गर्व व्यक्त गरे।

स्थानीय भूगोल र जनतासँग निकट सम्बन्ध रहेको उल्लेख गर्दै तामाङले बाहिरबाट आएका उम्मेदवारभन्दा आफू क्षेत्रका समस्या र सम्भावनासँग प्रत्यक्ष जोडिएको दाबी गरे। झापा–५ मा सम्भावित ठूला प्रतिस्पर्धीबीच पार्टीले स्थानीय युवालाई अघि सारेर फरक राजनीतिक सन्देश दिएको उनको भनाइ छ।

अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेका तामाङ यसअघि तत्कालीन माओवादी केन्द्रका तर्फबाट झापा जिल्लाको इन्चार्जको जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी नेकपाको केन्द्रीय समिति सदस्य छन्।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update