Banner Nepal
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत जाने

निर्वाचन आयोगको पछिल्लो निर्णयविरुद्ध नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ। काठमाण्डौस्थित सानेपामा आज बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने आयोगको निर्णय अस्वीकार गर्दै त्यसको कडा प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकले संवैधानिक, राजनीतिक र कानुनी सबै तहबाट विरोध गर्ने निष्कर्ष निकालेको देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार उपस्थितिको यथार्थ मूल्याङ्कन नगरी दूषित मनसायका साथ एकलौटी निर्णय गरिएको आरोप बैठकको निष्कर्ष हो।

विधिसम्मत रूपमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढङ्गले विस्थापन गर्ने प्रयासले पार्टीलाई गम्भीर क्षति पुग्ने आशंका व्यक्त गर्दै देउवा पक्षले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्ने तयारी भइसकेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update