Banner Nepal
रास्वपाको चुनावी यात्राको नेतृत्व बालेनले गर्ने, अभियान मधेशबाट सुरु

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले पदबाट राजीनामा दिएर आगामी निर्वाचनको चुनावी अभियानमा होमिने तयारी गरेका छन्। पार्टी स्रोतका अनुसार उनी माघ ५ गतेदेखि चुनाव केन्द्रीत यात्रामा निस्कनेछन्।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावी अभियानमा अघि बढाउने रणनीति बनाएको जनाइएको छ। उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा रहेका छन्, यद्यपि यसबारे औपचारिक घोषणा भने भइसकेको छैन।

बालेनको चुनावी यात्रा मधेश प्रदेशबाट सुरु हुने तय भएको छ। माघ ५ गते मधेश प्रदेशको राजधानी जनकपुरधामबाट अभियान प्रारम्भ गर्ने कार्यक्रम छ, जहाँ बालेन र रास्वपा सभापति रवि लामिछाने पहिलोपटक संयुक्त रूपमा उपस्थित हुनेछन्। रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले देश जोड्ने र बनाउने महाअभियानको सुरुआत मधेशबाट हुने उल्लेख गरेका छन्।

जनकपुरधामको कार्यक्रमपछि बालेन आफ्नो सम्भावित निर्वाचन क्षेत्र झापा–५ प्रस्थान गर्नेछन् भने सभापति लामिछाने चितवन जाने कार्यक्रम छ। माघ ६ गते प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता गर्ने र त्यसपछि दुवै नेता देशव्यापी चुनावी दौडाहामा निस्कने रास्वपाले जनाएको छ।

मधेशका मतदातालाई लक्षित गर्दै रास्वपाले बालेनलाई ‘मधेशपुत्र’ का रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको देखिन्छ। मधेशका विभिन्न स्थानमा ‘अबकी बार–बालेन सरकार’ लेखिएका पोस्टर देखिन थालेका छन्। हाल काठमाण्डौका स्थायी बासिन्दा रहेका बालेनको पुर्ख्यौली थलो महोत्तरी जिल्लाको एकडारा गाउँपालिका हो, जहाँ उनका पुर्ख्यौली घर अझै रहेको बताइन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार बालेनलाई ‘सम्भावित पहिलो मधेशी प्रधानमन्त्री’ का रूपमा प्रस्तुत गर्दा मधेशी मतदातामा प्रभाव पर्न सक्ने आँकलन गरिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update