Banner Nepal
एमालेले माघ ४ मा काठमाण्डौमा शक्ति प्रदर्शन गर्ने

काठमाण्डौ — नेकपा एमालेले माघ ४ गते काठमाण्डौमा विशेष शक्ति प्रदर्शन गर्ने भएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमार्फत बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले माघ ४ को जनप्रदर्शनसँगै पार्टी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको औपचारिक तयारीमा होमिने जानकारी दिनुभयो।

ढुङ्गेलका अनुसार जनप्रदर्शनपछि प्रज्ञा भवनमा आयोजना हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ। सभामा अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि आवश्यक रणनीति र निर्देशन दिने कार्यक्रम रहेको उहाँले बताउनुभयो।

बागमती प्रदेशका १८ वटै निर्वाचन क्षेत्रमा एमालेले अधिकतम जित हासिल गर्ने लक्ष्यसहित रणनीति तयार गरिएको पनि ढुङ्गेलको भनाइ छ।

यसैगरी, पार्टी सचिव महेश बस्नेतले माघ ४ गतेदेखि एमाले औपचारिक रूपमा चुनावी अभियानमा प्रवेश गर्ने बताउनुभयो। उहाँले पार्टी चुनावी तयारीमा जुटिरहेको भए पनि सरकारले अझै अनुकूल वातावरण बनाउन नसकेको दाबी गर्नुभयो।

आगामी निर्वाचनमा एमालेले बहुमत हासिल गर्न नसके पनि सबैभन्दा ठूलो दलका रूपमा स्थापित हुने दाबी पनि उहाँले गर्नुभयो।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update