काठमाण्डौ — तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित कसेरीघाटमा तीन जनाको सामूहिक हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार फोहोरमैला प्रशोधन केन्द्र परिसरमा तीन जनाको शव फेला परेपछि प्रहरीले गहन अनुसन्धान अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार मङ्गलबार पक्राउ परेका व्यक्तिले प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेकाले हाल पक्राउ परेका व्यक्तिको नाम र ठेगाना सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति उक्त फोहोरमैला प्रशोधन केन्द्रमा बारम्बार जाने गरेको तथ्य पनि अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार मृत भेटिएका तीनमध्ये दुई जनाको सनाखत भइसकेको छ। पहिचान हुनेहरूमा शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरकी ५८ वर्षीया देउमाया थापा रहेका छन्। तेस्रो मृतक पुरुषको भने हालसम्म पहिचान खुल्न सकेको छैन।
घटनाको कारण र प्रकृतिबारे अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले चाँडै पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।

