अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकार गम्भीर संकटको अवस्थामा पुगेको बताएका छन्। पछिल्ला केही हप्तामा प्रदर्शनकारीहरूले देशका विभिन्न सहरमा प्रभाव जमाएको उल्लेख गर्दै उनले यस्तो परिवर्तन कसैले कल्पना नगरेको दाबी गरेका छन्।
इरानको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाउँदै ट्रम्पले सरकारले फेरि प्रदर्शनकारीमाथि दमन तीव्र पारे कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उनका अनुसार यदि पुनः हिंसा बढाइयो भने अमेरिका त्यस्तो कदम चाल्नेछ, जसले इरानी नेतृत्वलाई सबैभन्दा बढी दबाबमा पार्नेछ। तर उनले उक्त कारबाही सैन्य हस्तक्षेपको रूपमा नहुने स्पष्ट पारेका छन्।
इरानमा पछिल्ला १३ दिनदेखि सरकारविरोधी प्रदर्शन जारी छ। प्रदर्शन हिंसात्मक बन्दै जाँदा मानवीय क्षति बढिरहेको छ। मानवअधिकार समूहहरूको तथ्यांकअनुसार यस अवधिमा कम्तीमा ४८ जना प्रदर्शनकारी र १४ जना सुरक्षाकर्मीको ज्यान गएको छ।


