Banner Nepal
कञ्चनपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि २,३२७ निर्वाचन प्रहरी भर्ना

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कञ्चनपुरमा २ हजार ३२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ। निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समितिले जिल्लामा आवश्यक सङ्ख्या पूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

आसन्न निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालअन्तर्गत म्यादी प्रहरी आवश्यक परेकाले शुक्रबार एकीकृत सूचना प्रकाशन गरिएको समितिले जनाएको छ। छनोटमा परेका उम्मेदवारलाई निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार सुविधा उपलब्ध गराइनेछ।

निर्वाचन प्रहरीमा आवेदन दिन शुक्रबारदेखि आगामी माघ १ गतेसम्म समय तोकिएको छ। समितिका अनुसार नेपाल प्रहरीतर्फ २ हजार ३५ जना र सशस्त्र प्रहरी बलतर्फ २९२ जना माग गरिएको छ। आवेदकले जिल्लास्थित सम्बन्धित सुरक्षा निकायका कार्यालयबाट दरखास्त फाराम बुझाउन सक्नेछन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार दरखास्त दिने व्यक्तिले अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ।

पूर्व सुरक्षाकर्मी, पूर्व वन रक्षक, यसअघि म्यादी प्रहरीका रूपमा काम गरिसकेका तथा सुरक्षा निकायबाट सेवानिवृत्त भएकालाई प्राथमिकता दिइने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिए। साथै, पछिल्लो समय विभिन्न सुरक्षा निकायको भर्ना प्रक्रियामा शारीरिक तथा स्वास्थ्य परीक्षण उत्तीर्ण भएकालाई पनि विशेष प्राथमिकतामा राखिनेछ।

यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा सेवा गरी अवकाश पाएका नेपाली नागरिकलाई पनि प्राथमिकता दिइने जनाइएको छ।

निर्वाचन प्रहरीका लागि नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नभएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ व्यक्ति हुनुपर्ने मापदण्ड तोकिएको छ।

आवेदकको प्रारम्भिक छनोट माघ ५ देखि ९ गतेसम्म हुने र अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिनेछ। छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम दिइनेछ।

नियुक्त निर्वाचन प्रहरीले ४० दिनसम्म वा सरकारले तोकेको अवधिसम्म काम गर्नुपर्नेछ। उनीहरूले प्रहरी जवानको सुरुआती तलब स्केलअनुसार प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले कुल ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक पाउनेछन्। साथै, खाद्यान्न भत्ता, आवतजावत खर्च र खाजा खर्चसमेत उपलब्ध गराइने जनाइएको छ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update