सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। वडा नम्बर ४ स्थित कर्मनिया बजारमा बिहीबार राति करिब ८ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय सुरेश चौधरीको ज्यान गएको हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको स.१० प. ५५१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डाइभर्सनका लागि दायाँतर्फ राखिएको सिमेन्ट ब्लकमा ठोक्किँदा चौधरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
उक्त मोटरसाइकलको पछाडि सवार २५ वर्षीय सरोज चौधरीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका कारण र अवस्थाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।


