इरानमा विगत दुई सातादेखि जारी महँगीविरुद्धको प्रदर्शन बिहीबार रातिदेखि थप हिंसात्मक बन्दै गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आन्दोलन देशभरका १०० भन्दा बढी सहरमा फैलिएको छ। प्रदर्शनकारीहरूले राजतन्त्रको पुनरागमनको नारा लगाउँदै सडकमै उत्रिएका छन्।
अशान्ति नियन्त्रण गर्न सरकारले देशभर इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको छ। इरानी सरकारी समाचार एजेन्सीका अनुसार राजधानी तेहरानमा स्थिति नियन्त्रणमा लिने क्रममा एक प्रहरी अधिकारीको चक्कु प्रहारबाट मृत्यु भएको छ।
देशको दोस्रो ठूलो सहर मशहदमा प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा च्यातेर आक्रोश व्यक्त गरेका छन्। अमेरिकी मानव अधिकार संस्थाहरूको तथ्यांकअनुसार प्रदर्शनका क्रममा भएको हिंसामा हालसम्म कम्तीमा ४५ जनाको ज्यान गएको छ भने २,२७० भन्दा बढी व्यक्ति हिरासतमा परेका छन्।
यो आन्दोलन निर्वासित युवराज रजा पहलवीको अपीलपछि अझ तीव्र बनेको बताइएको छ। उनी इरानका अन्तिम शाह मोहम्मद रजा पहलवीका छोरा हुन्, जसलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्ताबाट हटाइएको थियो। हाल रजा पहलवी अमेरिका बस्दै आएका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि दमन भए इरानमाथि कडा कारबाही गर्ने चेतावनी पुनः दोहोर्याएका छन्। उनले प्रदर्शनकारीको हत्या भए अमेरिकाले कठोर कदम चाल्ने बताएका छन्।
इरानमा जनआक्रोशको मुख्य कारण गहिरिँदो आर्थिक संकट हो। सन् २०२५ को डिसेम्बरमा इरानी मुद्रा रियाल ऐतिहासिक रूपमा कमजोर हुँदै प्रति अमेरिकी डलर करिब १.४५ मिलियन पुगेको छ। वर्षको सुरुदेखि रियालको मूल्य झन्डै आधा घटिसकेको छ।
देशमा खाद्य वस्तुको मूल्य ७२ प्रतिशतसम्म र औषधिको मूल्य करिब ५० प्रतिशतले बढेको छ। यसका साथै सरकारले सन् २०२६ का लागि ६२ प्रतिशत कर वृद्धि प्रस्ताव गरेपछि असन्तुष्टि थप चर्किएको हो।
सन् १९७९ पछि धार्मिक शासनअन्तर्गत रहेको इरान अहिले आर्थिक मन्दी, अन्तर्राष्ट्रिय प्रतिबन्ध, बेरोजगारी र निरन्तर आन्दोलनको चपेटामा छ। यिनै कारणले युवा र जेनजी पुस्ताले धर्मनिरपेक्ष र लोकतान्त्रिक विकल्पको रूपमा रजा पहलवीलाई अघि सार्दै सत्ता परिवर्तनको माग गरिरहेका छन्।
तेल निर्यातमा निर्भर इरानी अर्थतन्त्र सन् २०२५ मा थप दबाबमा परेको छ। प्रतिबन्ध र निर्यात घटेका कारण व्यापार घाटा बढ्दै गएको छ भने जीडीपी वृद्धिदर न्यून रहने अनुमान गरिएको छ। प्रतिबन्ध नहटेसम्म आर्थिक स्थायित्व चुनौतीपूर्ण देखिएको छ।


