Banner Nepal
पार्टी एकतामा जोड: खड्काले आज पत्रकार सम्मेलनमार्फत धारणा राख्ने

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पार्टीको पछिल्लो राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएका छन्। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने सम्मेलनमा वरिष्ठ नेता शेखर कोइरालासहित शीर्ष नेताहरूको सहभागिता रहने बताइएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वको तर्फबाट विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसभित्र उत्पन्न आन्तरिक तरंग र मतभेदका बीच खड्काको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यही सन्दर्भमा, बिहीबार नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई विवाद समाधान र सहमतिका लागि पहल गर्न आग्रह गरेका थिए।

यसैबीच, बिहीबार बसेको कांग्रेसको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै सो अवधिमा अन्य गतिविधि नगर्न निर्देशन दिएको थियो। बैठकले निर्वाचनपछि हुने नियमित महाधिवेशनमै पार्टी सुधारका सबै एजेन्डामाथि खुला छलफल गर्न सकिने निष्कर्ष निकालेको छ।

कांग्रेस नेतृत्वले हतारोमा लिइने कुनै पनि निर्णय वा गतिविधिले पार्टीको एकता र संगठनात्मक स्थायित्वमा नकारात्मक असर पर्न सक्ने भन्दै संयम र संवादमार्फत अघि बढ्नुपर्ने धारणा व्यक्त गरेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update