युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण एनआरएनए अमेरिकाभित्रको आन्तरिक विभाजनका कारण विवादमा तानिएको छ। मन्त्रीको निमन्त्रणालाई लिएर एनआरएनए अमेरिकाको नाममा दुई फरक विज्ञप्ति सार्वजनिक भएका छन्, जसले एकातिर निमन्त्रणा नै नभएको र अर्कातिर औपचारिक रूपमा बोलाइएको दाबी गरेका छन्।
गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एसीसी युएसए) ले प्रवक्ता सन्देश उप्रेतीको हस्ताक्षरसहित जारी विज्ञप्तिमा मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको स्पष्ट पारेको छ। संस्थाले आफ्ना नाम र पहिचान दुरुपयोग गर्दै अनुमति विना कार्यक्रम सञ्चालन, अनधिकृत गतिविधि तथा गैरकानुनी काम भइरहेको विश्वसनीय सूचना प्राप्त भएको जनाएको छ। इआइएन नम्बर र वेबसाइटसमेत दुरुपयोग हुँदा कानुनी, आर्थिक र प्रतिष्ठागत जोखिम बढेको भन्दै यसलाई अत्यन्त संवेदनशील विषयका रूपमा लिइएको उल्लेख गरिएको छ।
उक्त विज्ञप्तिमा संस्थासँग असम्बन्धित कुनै पनि कार्यक्रम, भ्रमण वा आर्थिक संकलन पूर्णतः अवैध र अमान्य हुने जनाउँदै, त्यस्ता गतिविधिमा सहभागी व्यक्तिको यात्रा, आवास वा अन्य खर्चप्रति संस्थाले जिम्मेवारी नलिने स्पष्ट गरिएको छ। यस विषयमा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी गराइने पनि जनाइएको छ।
यता, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका का प्रवक्ता द्रोण गौतमले जारी गरेको अर्को विज्ञप्तिमा भने मन्त्री गुप्तालाई औपचारिक रूपमा कार्यक्रममा बोलाइएको दाबी गरिएको छ। उनले मन्त्री गुप्ता विदेशमा रहेका नेपाली युवासहित सम्पूर्ण नेपाली समुदायका साझा प्रतिनिधि भएको र ‘पोस्ट जेन्जी’ सन्दर्भमा नेपाल विकासमा युवाको भूमिकाबारे अन्तरक्रियाका लागि निमन्त्रणा गरिएको बताएका छन्।
गौतमका अनुसार टेक्सासको डालसमा आयोजना हुने कार्यक्रममा सहभागी हुन लाग्ने सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्ने निर्णय भएको छ र यसबाट नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्नेछ। कार्यक्रमको विस्तृत कार्यतालिका अन्तिम भएपछि सार्वजनिक गरिने उल्लेख गर्दै, भ्रामक टिप्पणीभन्दा तथ्यमा आधारित भएर सोच्न नेपाली समुदायसँग आग्रह गरिएको छ।


