Banner Nepal
निर्धारित मितिमै चुनाव हुनुपर्छ: डा. बाबुराम भट्टराई

काठमाण्डौ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले यही सरकारले फागुन २१ गते नै चुनाव सम्पन्न गर्न सक्ने स्पष्ट धारणा राख्दै त्यसका लागि सरकार, सबै राजनीतिक दल र नागरिक तहबाट दृढ अठोट आवश्यक रहेको बताउनुभयो।

उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक कार्यक्रममा सम्बोधन गर्दै डा. भट्टराईले चुनाव हुँदैन वा तयारी पुगेको छैन भन्ने बहानामा अब पछि हट्न नहुने धारणा व्यक्त गर्नुभयो। तोकिएको मितिमै निर्वाचन गराउनु नै देशको आवश्यकतासमेत भएको उहाँको भनाइ थियो।

उहाँले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमै निर्वाचन सम्पन्न हुनुपर्ने उल्लेख गर्दै यही नेतृत्व सक्षम र जिम्मेवार रहेको दाबी गर्नुभयो। प्रधानमन्त्री कार्कीले पछिल्ला दिनमा आफू आजित र हैरान भएको प्रतिक्रिया दिएको प्रसंगमा डा. भट्टराईले त्यसलाई मानवीय स्वभावसँग जोडेर हेर्नुपर्ने टिप्पणी गर्नुभयो।

यसअघि प्रधानमन्त्री कार्कीले दलदेखि जेनजीका विभिन्न समूहबाट निरन्तर दबाब र आलोचना आइरहेको भन्दै आफू मानसिक रूपमा थकित भएको अभिव्यक्ति दिएकी थिइन्।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update