Banner Nepal
देशभर चुनावी माहोल बनेको सञ्चारमन्त्री खरेलको निष्कर्ष

काठमाण्डौ — सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश अहिले पूर्ण रूपमा निर्वाचनको वातावरणमा प्रवेश गरिसकेको दाबी गर्नुभएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाण्डौमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै मन्त्री खरेलले शीर्ष नेताहरूको सक्रियता र विभिन्न कार्यक्रममा देखिएको उपस्थितिले नै मुलुक निर्वाचनमय भइसकेको स्पष्ट संकेत गरेको बताउनुभयो।

उहाँका अनुसार शीर्ष नेतृत्वको चहलपहल बढ्नु र प्रत्यक्षतर्फका १६५ सिटको तयारीले चुनावी सरगर्मी सुरु भइसकेको देखाउँछ। नेताहरूमा देखिएको सक्रियता र उत्साहले अब निर्वाचनको तयारी तीव्र बनेको उहाँको भनाइ थियो।

मन्त्री खरेलले सरकारको स्पष्ट म्यान्डेट नै फागुन २१ गते निर्वाचन सम्पन्न गराउने रहेको उल्लेख गर्दै अब चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल समाप्त भएको दाबी गर्नुभयो। अब निर्वाचन निश्चित भइसकेको उहाँको भनाइ छ।

यसैगरी, मन्त्री खरेलले पछिल्लो २० वर्षको अवधिमा पहिलोपटक सबैभन्दा धेरै भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा दर्ता भएको उल्लेख गर्दै सुशासनका सवालमा सरकारको सक्रियता बढेको जिकिर गर्नुभयो।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update