Banner Nepal
मानव बेचविखन रोकथाममा सफलता: जमुनाहा नाकाबाट ५४५ महिला उद्धार

काठमाण्डौ — मानव बेचविखनको जोखिममा भारततर्फ गइरहेका विभिन्न जिल्लाका ५४५ महिलालाई गत वर्ष नेपाल–भारत सीमाको जमुनाहा नाकाबाट उद्धार गरिएको छ। माइती नेपाल नेपालगन्जका अनुसार जोखिम देखिएपछि ती महिलालाई रोक्दै परामर्श दिइ अभिभावकको जिम्मा लगाइएको हो।

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जमुनाहा नाका मानव बेचविखनका लागि संवेदनशील बन्दै गएको उल्लेख गर्दै रोजगारी वा अन्य बहानामा महिलाहरू जोखिमपूर्ण तरिकाले भारत पुग्ने क्रम निरन्तर रहेको बताए। नाकामा चेकजाँच कडाइ गरिएसँगै शंका लागेमा सोधपुछ र रोकथाम तीव्र पारिएको छ।

कडाइपछि दलालहरूले अन्य साइड नाका र नयाँ–नयाँ तरिका अपनाएर सीमा पार गराउने प्रयास बढाएको पाइएको माइती नेपालले जनाएको छ। पछिल्लो समय प्रविधिको प्रयोगमार्फत जोखिमपूर्ण रोजगारीका लागि महिलालाई सहमत गराउने प्रवृत्ति पनि देखिएको छ। माइती नेपालले सन् २००२ देखि जमुनाहा नाकामा युनिट सञ्चालन गरी जोखिमपूर्ण यात्रामा भारत जाने महिलालाई रोक्दै आएको छ।

जमुनाहा नाकामा माइती नेपालसँगै अन्य संघसंस्थाले पनि मानव बेचविखन र जोखिमपूर्ण रोजगारीमा जान लागेका महिला तथा युवतीको उद्धारमा सहकार्य गर्दै आएका छन्।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update