Banner Nepal
कांग्रेसको सूची सुधार: समानुपातिकमा नयाँ उम्मेदवारलाई अवसर

नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेकाहरूलाई यसपटक पुनः उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फको बन्दसूची तय गर्न बसेको कार्यसम्पादन समितिको बैठकले उक्त मापदण्ड लागू गर्ने निष्कर्ष निकालेको हो।

समानुपातिक प्रणाली लागू भएयता ०६४, ०७०, ०७४ र ०७९ सालमा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा समानुपातिक सूचीमार्फत सांसद बनेकाहरू आगामी सूचीमा समावेश नहुनेछन्। यसअघि अवसर पाइसकेकालाई बाहिर राखी अहिलेसम्म प्रतिनिधित्व नपाएका नयाँ उम्मेदवारलाई प्राथमिकता दिने नीति अवलम्बन गरिएको कांग्रेस स्रोतले जनाएको छ।

कार्यसम्पादन समितिका एक सदस्यका अनुसार, प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट निर्वाचित भइसकेकाहरूलाई यसपटक सूचीमा नसमेट्ने स्पष्ट निर्णय भएको छ। बैठक अझै जारी रहेको र त्यसै बैठकबाट समानुपातिकतर्फको बन्दसूचीमा रहने उम्मेदवारहरूको अन्तिम नाम छनोट गरिने बताइएको छ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update