काठमाण्डौ — राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच आज शीतल निवासमा भेटवार्ता भएको छ। बिहान १० बजेदेखि करिब एक घण्टा चलेको भेटमा दुवै पक्षबीच समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचन तथा मुलुकले सामना गरिरहेका चुनौतीबारे विस्तृत छलफल भएको जनाइएको छ।
भेटका क्रममा राष्ट्रपति पौडेलले खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको स्रोतले जनाएको छ।
छलफलमा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वाधार, शान्ति सुरक्षा व्यवस्थापन तथा तोकिएकै समयमा निर्वाचन गराउने विषयमा विचार–विमर्श भएको बताइएको छ। साथै २३ र २४ गते घटेका घटनाहरू र ती घटनाका कारणबारे पनि दुवै पक्षबीच छलफल भएको जानकारी दिइएको छ।
स्रोतका अनुसार हालको सरकार बाध्यात्मक परिस्थितिमा गठन भएको र यसको मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गराउनु नै रहेको विषयमा जोड दिइएको थियो। निर्वाचनको विकल्प नरहेको तर आवश्यक तयारी, सबै राजनीतिक दल र सरोकारवाला पक्षबीच सहमति कायम गर्दै मुलुकलाई नयाँ निकास दिनुपर्ने धारणा आदान–प्रदान भएको छ। फागुन २१ गते निर्वाचन सम्पन्न गर्नुपर्ने विषयमा राष्ट्रपति पौडेल र नेता खनालबीच साझा समझदारी रहेको बुझिएको छ।



