केन्द्रीय कारागारबाट फरार व्यक्ति भारतमा मृत फेला
काठमाण्डौ — जेनजी आन्दोलनका बेला केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक व्यक्तिको भारतमा मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका–३ का ४० वर्षीय आलम मियाँ भारतको हिमाञ्चल प्रदेशस्थित एक पानी प्रशोधित कम्पनीमा काम गर्ने क्रममा अचानक बेहोस भई ढलेपछि उपचारका लागि नजिकैको अस्पताल पुर्याइएका थिए। उपचारकै क्रममा सोही दिन उनको निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी शनिबार भारतको गलगलिया नाका हुँदै शव भद्रपुर ल्याई बिर्तामोड पुर्याइएको छ। अदालतको फैसलाअनुसार जबरजस्ती करणी कसुरमा दोषी ठहर भई विगत चार वर्षदेखि कैद सजाय भोग्दै आएका मियाँ जेनजी आन्दोलनका बेला कारागारबाट फरार भई भारत गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रकाशित मिति: शनिबार, पुस १२, २०८२ १४:२२
प्रतिक्रिया दिनुहोस्



