Banner Nepal
रास्वपा–बालेन पक्षबीच एकताको बाटो खुल्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह पक्षबीच सहकार्य गर्दै एक भएर अघि बढ्ने विषयमा करिब सहमति बनेको दुवै पक्षका नेताहरूले बताएका छन्।

दुवै पक्षबाट दुई–दुई जना सहभागी चार सदस्यीय वार्ता समितिबीच भएको छलफलमा प्रस्तावित विषयहरूमा लगभग सहमति जुटे पनि अन्तिम निर्णय भने आज हुन सकेन। रास्वपा नेता शिशिर खनालका अनुसार सहकार्यको ढाँचामा सहमति बनेको भए पनि औपचारिक टुंगो भोलिसम्मका लागि सारिएको हो।

वार्तामा के–के विषयमा सहमति जुट्यो भन्नेबारे औपचारिक रूपमा दुवै पक्षले विस्तृत जानकारी दिएका छैनन्। यद्यपि, रास्वपाका एक नेताका अनुसार मेयर शाहलाई पार्टीको सहसभापति बनाउने तथा भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने प्रस्तावसमेत छलफलमा आएको छ। केन्द्रीय समितिमा बालेन शाह पक्षलाई समेट्ने विषय पनि सहमतिका एजेन्डामा रहेको बताइएको छ।

नेताहरूका अनुसार वार्ता समितिमा बनेको सहमतिलाई अन्तिम रूप दिन रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीच प्रत्यक्ष छलफल आवश्यक रहेको छ। शनिबारसम्म मिलेर अघि बढ्ने विषयमा अन्तिम टुंगो लाग्ने अपेक्षा गरिएको छ।

यसैबीच, मेयर शाह निकट नेताहरूले ‘लौरो’ चुनाव चिह्न लिएर देश विकास पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गरिसकेका छन्। मेयर शाहले आगामी दिनमा दलमार्फत सक्रिय राजनीतिमा प्रवेश गर्ने संकेतसमेत निकटहरूसँग व्यक्त गरेको स्रोतको दाबी छ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update