Banner Nepal
चुनावको विकल्प छैन: शीर्ष नेताहरूको साझा धारणा

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचनको विषयमा छुट्टाछुट्टै छलफल गरेका छन्। शुक्रबार काठमाण्डौमा उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका हुन्।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले तीनै दलका शीर्ष नेताहरू निर्वाचनको मूल मर्ममा सहमत देखिएको बताए। उनका अनुसार, कांग्रेस सभापति देउवाले संसद पुनःस्थापना नभई समयमै निर्वाचन नै पार्टीको प्राथमिकता भएको स्पष्ट पारेका छन्। देउवाले निर्वाचन सफल बनाउन सुरक्षाको वातावरण सुनिश्चित गर्न सरकारलाई सुझावसमेत दिएका खरेलले जानकारी दिए।

त्यसैगरी, नेकपा संयोजक प्रचण्डले वर्तमान अवस्थामा निर्वाचनको विकल्प नरहेको धारणा राख्दै फागुन २१ मै चुनाव हुनुपर्नेमा जोड दिएका छन्। निर्वाचन सफल पार्न आफ्नो दलको तर्फबाट सरकारलाई पूर्ण सहयोग रहने प्रतिबद्धता पनि प्रचण्डले व्यक्त गरेको मन्त्री खरेलले बताए।

एमाले अध्यक्ष ओलीले भने लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने पार्टी भएकाले चुनावबाट पछि नहट्ने स्पष्ट पारेको खरेलले जनाए। तर, त्यसका लागि मतदाता र दलहरू निर्भय भएर सहभागी हुन सक्ने सुरक्षा ग्यारेन्टी आवश्यक रहेको ओलीको सर्त रहेको उनको भनाइ छ।

मन्त्री खरेलले सरकार निष्पक्ष, स्वतन्त्र र निर्धारित मितिमै निर्वाचन गराउन प्रतिबद्ध रहेको दोहोर्‍याए। निर्वाचन आयोग र सुरक्षा निकायसँग समन्वय गरी तयारी तीव्र पारिएको उल्लेख गर्दै उनले फागुन २१ मा चुनाव हुने विषयमा ढुक्क रहन आग्रह गरे। चुनावी वातावरण निर्माणकै उद्देश्यले आफूले शीर्ष नेताहरूलाई भेटेको पनि उनले स्पष्ट पारे।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update