Banner Nepal
चुनाव कि युद्ध ? प्रधानमन्त्री कार्कीलाई विप्लवको प्रश्न

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई निर्वाचनभन्दा युद्धतर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कपिलवस्तु र अर्घाखाँचीमा रहेका माओवादी श्रम शिविरमा प्रहरी अपरेशन भएको भन्दै सरकारको कदमप्रति कडा आपत्ति जनाए। उनका अनुसार, उक्त कारबाहीले पार्टीलाई शान्तिपूर्ण प्रतिस्पर्धाबाट टाढा लैजान खोजिएको संकेत गर्छ।

विप्लवले सम्बन्धित स्थानबाट प्रहरी तत्काल फिर्ता नबोलाइए सरकारविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी दिए। उनले सरकारलाई सिधै प्रश्न गर्दै चुनाव गर्न चाहेको हो कि युद्ध, स्पष्ट निर्णय गर्न आग्रह गरे।

प्रधानमन्त्री कार्कीप्रति लक्षित टिप्पणी गर्दै उनले माओवादी पार्टी कानुनी प्रक्रिया पूरा गरी शान्तिपूर्ण ढंगले निर्वाचनमा जाने तयारीमा रहेको दाबी गरे। तर, श्रम शिविरमा गरिएको प्रहरी अपरेशनलाई गलत कदम ठहर गर्दै त्यसबारे माफी नमागे सरकारलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए।

विप्लवले माओवादी शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामार्फत परिवर्तन चाहने पक्षमा रहेको उल्लेख गर्दै राज्य र जनतासँग इमान्दार ढंगले चुनावी प्रक्रियामा सहभागी हुन खोजिएको बताए। यद्यपि, सुरक्षा निकायको हस्तक्षेप जारी रहे त्यसले गम्भीर परिणाम निम्त्याउने उनको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update