फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू उम्मेदवार सिफारिसमा जुटिरहेका छन्। यही क्रममा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका तीन पदाधिकारीसहित सात जना नेताले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने सार्वजनिक घोषणा गरेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी र मानबहादुर विश्वकर्मा तथा धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारीले निर्वाचन नलड्ने निर्णय गरेका हुन्। कतिपय नेताले पार्टी नेतृत्व परिवर्तनको सर्त अघि सारेका छन् भने कतिपयले नयाँ पुस्तालाई अवसर दिनुपर्ने तर्क प्रस्तुत गरेका छन्।
महामन्त्री थापा र शर्माले काठमाण्डौस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उम्मेदवार नहुने घोषणा गरेका हुन्। थापाले निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको उल्लेख गर्दै नेतृत्व यथावत् रहे निर्वाचनमा सहभागी नहुने स्पष्ट पारेका छन्। जेन–जी आन्दोलनपछि नेतृत्व परिवर्तनको आवश्यकता औँल्याउँदै आएका थापाले नियमित वा विशेष महाधिवेशनमार्फत नेतृत्व फेरेर मात्र चुनावमा जानुपर्ने धारणा दोहोर्याए।
लगातार तीन पटक उम्मेदवार भइसकेको उल्लेख गर्दै महामन्त्री शर्माले यसपटक अन्य नेताहरूलाई अघि बढाउन आफू पछि हट्ने बताएका छन्।
सहमहामन्त्री पाण्डेले पनि गृहजिल्ला बाजुरामा भएको छलफलमा उम्मेदवार नबन्ने जानकारी गराउँदै नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताएका छन्। पूर्वमन्त्रीसमेत रहेका पाण्डेले एक कार्यकाल पार्टी सुदृढीकरणमा समर्पित रहने जनाएका छन्।
पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी र नेता मानबहादुर विश्वकर्माले पनि नयाँ र युवा नेतृत्वलाई अघि बढाउन निर्वाचनबाट अलग हुने निर्णय गरेका छन्। धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारीले समेत क्षेत्रीय समितिको बैठकमार्फत आफ्नो दाबी नरहने घोषणा गरेका छन्।
पार्टीभित्र प्रभावशाली नेताहरूको सामूहिक घोषणापछि कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा कस्तो रणनीतिसहित सहभागिता जनाउँछ भन्ने विषयमा राजनीतिक चासो बढेको छ।


