Banner Nepal
कांग्रेसको दबाब: तत्काल राष्ट्रियसभा अधिवेशन आह्वान हुनुपर्छ

नेपाली कांग्रेसले बदलिएको राजनीतिक परिस्थितिमा तत्काल राष्ट्रियसभा बैठक आह्वान गर्न माग गरेको छ। कांग्रेस राष्ट्रियसभा संसदीय दलको बैठकले प्रतिनिधि सभा असंवैधानिक ढङ्गबाट विघटन भएको अवस्थामा संघीय संसद् अन्तर्गत राष्ट्रियसभा मात्र सक्रिय रहँदा त्यसको बैठक बस्नु अपरिहार्य भएको निष्कर्ष निकालेको हो।

बैठकपछि प्रमुख सचेतक कृष्णबहादुर रोकायले देशमा उत्पन्न संवैधानिक र राजनीतिक विषम अवस्थाबीच जनताका आवाजहरू उठाउने थलोका रूपमा राष्ट्रियसभा आवश्यक रहेको बताए। प्रतिनिधि सभा विघटनपछि राष्ट्रियसभा नै सार्वभौम संसद्को सक्रिय संरचना भएकाले अविलम्ब अधिवेशन आह्वान गर्नुपर्ने उनको भनाइ छ।

कांग्रेसले वर्तमान अवस्थालाई गम्भीर ठहर गर्दै संवैधानिक अभ्यास र लोकतान्त्रिक प्रक्रियाको संरक्षणका लागि राष्ट्रियसभामार्फत छलफल र निर्णय आवश्यक भएको धारणा सार्वजनिक गरेको छ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update