Banner Nepal
फागुन २१ को चुनावमा हिमालका मतदाता वञ्चित हुने खतरा

पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको मिति तोक्दा मुलुकको भौगोलिक बनावट र मौसमको यथार्थलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका छन्। फागुन २१ गते निर्वाचन गर्ने प्रस्तावप्रति प्रश्न उठाउँदै उनले सो दिन हिमाली भेगका नागरिकले सहज रूपमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् भन्ने विषय उठान गरे।

बिहीबार काठमाण्डौमा सेन्टर फर पोलिसी रिसर्चले आयोजना गरेको कार्यक्रममा बोल्दै थपलियाले हिमपात, अत्यधिक चिसो र घाम नलाग्ने अवस्थाका कारण हिमाली क्षेत्रमा मतदान प्रक्रिया जटिल बन्ने बताए। यस्तो अवस्थामा हुम्लाजस्ता जिल्लाका नागरिक मतदान अधिकारबाट वञ्चित हुनसक्ने उनको भनाइ थियो।

समाधानका रूपमा उनले दुई चरणमा निर्वाचन गर्न सकिने विकल्प सुझाएका छन्। सहज भौगोलिक क्षेत्रमा फागुन २१ गते निर्वाचन गराएर हिमाली तथा दुर्गम क्षेत्रमा मौसम अनुकूल भएपछि अर्को चरणमा चुनाव गर्न सकिने उनको प्रस्ताव छ।

आफू हिमाली जिल्लाबाट आएको अनुभव सुनाउँदै थपलियाले मनाङ, संखुवासभा र खाङ्सारजस्ता स्थानमा फागुन महिनामा केही मिनेट पनि उभिन नसकिने अवस्था हुने उल्लेख गरे। यस्तो परिस्थितिमा प्रचारप्रसार, सुरक्षाको व्यवस्थापन र मतदान प्रक्रिया कसरी सम्भव हुन्छ भन्ने प्रश्न उनको थियो।

नेपालको भूगोल सबै क्षेत्र समेटिने भएकाले निर्वाचन एकै ढाँचामा सम्भव नहुने तर्क गर्दै उनले सरकारलाई गम्भीर पुनर्विचार गर्न आग्रह गरेका छन्। ऐतिहासिक सन्दर्भ दिँदै उनले हिमाली क्षेत्रमा चैत २८ गतेभन्दा अगाडि निर्वाचन भएको उदाहरण नरहेको उल्लेख गरे।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update