Banner Nepal
पार्टी राजनीतिमा प्रवेशको संकेत, जेन–जीलाई एकजुट हुन मेयर शाहको आग्रह

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू पार्टी राजनीतिमा आएको जनाउँदै जेन–जी अगुवाहरूसँग सहकार्यको प्रस्ताव राखेका छन्। बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको निवासमा भएको भेटघाटका क्रममा जेन–जी अगुवा रक्षा बमको नेतृत्वमा पुगेको टोलीसँग संवाद गर्दै उनले सबै जेन–जी समूहलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका हुन्।

जेन–जी अगुवा युजनराज भण्डारीका अनुसार मेयर शाहले पार्टी राजनीतिमा प्रवेशपछि सहकार्य आवश्यक रहेको धारणा राख्दै एकीकृत प्रयासको आह्वान गरेका छन्। “म पार्टी राजनीतिमा आएँ, अब सहकार्य गरौं। सबै जेन–जी एक भएर आउनुस्,” मेयर शाहको भनाइ उद्धृत गर्दै भण्डारीले बताए।

मेयर शाहले पछिल्ला दिनहरूमा निरन्तर राजनीतिक संवादलाई तीव्र पारेका छन्। आजै मात्र उनले रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न दलका नेताहरू तथा निवर्तमान सांसदहरूसँग छलफल गरेका छन्। यसैबीच, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि मेयर शाहसँग भेटवार्ता गरेका छन्।

स्रोतका अनुसार आजै मेयर शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच पुनः छलफल हुने तयारी छ। बिहीबार अपराह्न बालेन र रविबीच करिब अढाई घण्टा चलेको भेटमा सम्भावित एकता प्रक्रियाका विषयमा विस्तृत संवाद भएको बुझिएको छ। त्यस क्रममा पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपातजस्ता विषयमा लचकताका साथ प्रस्तावहरू राखिएको जनाइएको छ।

रविले रास्वपाभित्र पहिल्यै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार गर्ने प्रस्ताव अघि सारेका थिए। परामर्शका आधारमा उक्त अनुपात परिमार्जन गर्न सकिने विकल्प पनि उनले प्रस्तुत गरेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update