स्थिरताका लागि धैर्य — प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई बंगलादेशजस्तो अस्थिरतामा जान दिन नहुने स्पष्ट पारेकी छन्। बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान अन्तरिम सरकारमाथि राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर दबाब र आलोचना आइरहेको बताइन्।
प्रधानमन्त्री कार्कीले सरकार ‘अचानो’ जस्तो अवस्थामा परेको टिप्पणी दोहोर्याउँदै दिनहुँ ‘सरकार छोड’ भन्ने भाष्य सुनिनु दुःखद भएको उल्लेख गरिन्। युवामाझ निर्वाचनको आवश्यकतामाथि प्रश्न उठ्ने प्रवृत्ति देखिएको र विभिन्न जेन–जी समूहबाट परस्परविरोधी अपेक्षा आउने गरेको उनको भनाइ थियो।
सबैतिरबाट गालीगलौज र दबाब आए पनि सरकारले धैर्यधारण गर्दै काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। सरकार छोडेपछि पनि आलोचना नरोकिने अवस्था रहेको उल्लेख गर्दै उनले पेण्डुलमजस्तो परिस्थितिमा समेत मेहनत र संयमका साथ जिम्मेवारी निर्वाह भइरहेको बताइन्।



