Banner Nepal
मुख्यमन्त्री शाहद्वारा स्वामी रामदेव र आचार्य बालकृष्णसँग धार्मिक पर्यटनबारे संवाद

काठमाण्डौ— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वामी रामदेव र आचार्य बालकृष्णसँग प्रदेशमा धार्मिक पर्यटन विकासका सम्भावनाबारे छलफल गर्नुभएको छ। स्वास्थ्य उपचारका सिलसिलामा भारतको नयाँ दिल्ली पुगेका बेला उहाँले दुवैसँग भेट गरी धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा विचारविमर्श गर्नुभएको हो।

छलफलका क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक पहिचानलाई पर्यटनसँग जोड्न सहयोगको अपेक्षा व्यक्त गर्नुभएको बताइएको छ। प्रदेशमा धार्मिक गन्तव्यहरूको विकासमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सम्भावनाबारे कुराकानी भएको जनाइएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि मुख्यमन्त्री शाह उपचारका लागि नयाँ दिल्ली जानुभएको थियो। दायाँ खुट्टाको हड्डी तथा नसासम्बन्धी समस्याका कारण एक साताअघि भारत प्रस्थान गर्नुभएका उहाँले नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार गराउनुभएको हो।

एक चरणको उपचार पूरा गरी मुख्यमन्त्री शाह मङ्गलबार स्थलमार्ग हुँदै स्वदेश फर्कनुभएको छ। मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमका अनुसार शाहले यसअघि धनगढीको सेती प्रादेशिक अस्पताल र काठमाण्डौस्थित वीर अस्पतालमा पनि उपचार गराउनुभएको थियो।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update