Banner Nepal
बाँके–२ बाट कमल थापाको एकल नाम सिफारिस

काठमाण्डौ— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल बाँकेले निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाको एकल नाम सिफारिस गरेको छ।

राप्रपा नेपालका सहायक महामन्त्री अभय बस्नेतका अनुसार क्षेत्र नम्बर २ बाट अध्यक्ष थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो। स्थानीय कार्यकर्ता तथा जनताको चाहनाअनुसार नै थापाको नाम अघि सारिएको उहाँले जानकारी दिनुभयो।

बस्नेतले बाँके जिल्ला विगतदेखि नै राप्रपाको बलियो आधार क्षेत्र रहँदै आएको उल्लेख गर्दै यसपटक राप्रपाका नेता धवल शमशेर राणाले निर्वाचन नलड्ने घोषणा गरेपछि राप्रपा नेपालले आफ्ना अध्यक्षलाई यही क्षेत्रबाट उम्मेदवार बनाउने तयारी गरेको स्पष्ट पार्नुभयो।

स्थानीय तहबाट पनि लामो समयदेखि अध्यक्ष थापाको उम्मेदवारीको माग उठ्दै आएको र यसपटक उपयुक्त अवसर देखिएकाले एकल नाम सिफारिस गरिएको उहाँको भनाइ छ।

यस्तै, राप्रपा नेपाल बाँकेका अध्यक्ष दीपेन्द्रबहादुर सिंहले बाँके–२ बाट निर्वाचन लड्न अध्यक्ष थापा सकारात्मक देखिनुभएको बताउनुभयो। अध्यक्ष थापाले उम्मेदवारी दिने निर्णय गरेमा यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप चासोको विषय बन्ने अनुमान गरिएको छ।

बाँके–२ बाट जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राई उम्मेदवार बन्ने तयारीमा रहनुभएको छ। जसपा नेपालले नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई र नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहको नाम पनि सिफारिस गरेको छ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update