रुस र युक्रेनबिच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि अमेरिकाले युक्रेन र युरोपेली प्रतिनिधिसँग फ्लोरिडामा गरेको वार्तालाई ‘फलदायी र रचनात्मक’ भएको जनाएको छ । ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफले आइतबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिनुभएको हो ।
उहाँका अनुसार युक्रेन, संयुक्त राज्य अमेरिका र युरोपबिच साझा रणनीतिक दृष्टिकोणमा तालमेल कायम गर्न वार्ताको आयोजना गरिएको हो । “हाम्रो साझा प्राथमिकता हिंसा रोक्नु, दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु र युक्रेनको पुनः उत्थान, स्थिरता तथा समृद्धिका लागि आधार तयार गर्नु हो । शान्ति केवल युद्ध अन्त्य मात्र नभई स्थिर भविष्यतर्फको सम्मानजनक मार्ग हुनुपर्छ”, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत विटकफले भन्नुभयो ।
यो पहल ट्रम्प प्रशासनले महिनौंदेखि अघि बढाउँदै आएको कूटनीतिक प्रयासको हिस्सा हो । राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि तीव्र कूटनीतिक दबाब दिँदै आउनुभएको छ । तर मस्को र किएभका माग एकअर्कासँग मेल नखाँदा प्रक्रिया जटिल बनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनप्रति आफ्ना अधिकतम मागमा अडिग रहने सङ्केत दिँदै आउनुभएको छ, यद्यपि युद्धमैदानमा ठूलो क्षति व्यहोर्दै पनि रुसी सेना केही स्थानमा अगाडि बढिरहेको बताइएको छ ।
यसैबिच, रुससँगको वार्ता पनि जारी रहेको सङ्केत दिँदै क्रेमलिनका एक प्रतिनिधिले फ्लोरिडामा छलफल ‘रचनात्मकरूपमा अघि बढिरहेको’ बताएका छन् । रुसी दूत किरिल दिमित्रिभले शनिबार मियामीमा पत्रकारसँग कुरा गर्दै छलफल निरन्तर जारी रहने जानकारी दिनुभएको थियो । उहाँले विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग भेटघाट गर्नुभएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार टेलिग्राममार्फत कूटनीतिक प्रयास तीव्र गतिमा अघि बढिरहेको र फ्लोरिडामा युक्रेनी टोलीले अमेरिकी पक्षसँग सक्रियरूपमा काम गरिरहेको बताउनुभयो । तर क्रेमलिनले युक्रेन, रुस र अमेरिका संलग्न त्रिपक्षीय वार्ता तयारी भइरहेको भन्ने दाबी अस्वीकार गरेको छ । राष्ट्रपति पुटिनका विदेश मामिला सल्लाहकार युरी उसाकोभले हाल यस्तो पहल गम्भीररूपमा छलफलमा नरहेको स्पष्ट पार्नुभएको छ ।
युक्रेनभित्रै, मानव अधिकार लोकपाल दमित्रो लुबिनेट्सले रुसी सेनाले सुमी सीमा क्षेत्रबाट करिब ५० जना युक्रेनी सर्वसाधारणलाई जबरजस्ती रुसमा लगेको आरोप लगाउनुभएको छ । उहाँका अनुसार ती नागरिकलाई अवैधरूपमा नियन्त्रणमा लिएर रुसी भूभागमा पुर्याइएको हो । यस विषयमा उहाँले रुसका मानव अधिकार आयुक्तसँग सम्पर्क गरी तत्काल नागरिक फिर्ता गर्न माग गर्नुभएको छ ।
यसै सन्दर्भमा, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्न पुटिन इच्छुक रहेको खबरलाई फ्रान्सले स्वागत गरेको छ । म्याक्रोनको कार्यालयले युद्धविराम र शान्ति वार्ताको सम्भावना स्पष्ट भएमा संवाद उपयोगी हुने जनाएको छ । उता, युरोपेली सङ्घ (इयु) का नेताले युक्रेनको सैन्य र आर्थिक आवश्यकताका लागि आगामी दुई वर्षमा ९० अर्ब युरो सहयोग प्रदान गर्ने सहमति जनाएका छन्, जसका लागि पुँजी बजारबाट ऋण लिने योजना बनाइएको छ ।


