काठमाण्डौ — देशभर प्रतिनिधिसभा निर्वाचनका लागि १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। सिंहदरबारमा सोमबार आयोजित सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यो जानकारी दिएका हुन्। आयोगका अनुसार यो वृद्धि कुल मतदाता संख्यामा ५.६५ प्रतिशतले भएको हो।
उनका अनुसार हाल प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या ११४ पुगेको छ। २०७९ सालको निर्वाचनमा ८७ दल सहभागी भएकामा यसपटक दल संख्या उल्लेख्य बढेकाले निर्वाचन प्रतिस्पर्धा थप तीव्र हुने आयोगको अनुमान छ।
निर्वाचन सामग्री व्यवस्थापनतर्फ आयोगले मतदान केन्द्रमा प्रयोग हुने ५१ प्रकारका सामग्री पहिचान गरिसकेको छ। तीमध्ये ३७ सामग्री जिल्लास्तरबाटै खरिद गर्ने र बाँकी १४ सामग्री मात्र आयोगले केन्द्रबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। मतपेटिका र मसीको मौज्दात पर्याप्त रहेकाले ती सामग्री खरिद आवश्यक नपर्ने जानकारी दिइएको छ।
पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्याम्प प्याड र मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँचीलगायत सामग्रीमा नपुग मात्र खरिद गर्ने गरी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। मितव्ययी ढंगले स्रोतको बचत गर्दै निर्वाचन सम्पन्न गर्ने आयोगको लक्ष्य रहेको उनले बताए।
मतदाता नामावलीको अन्तिम सूची पुस १५ गते तयार हुने जनाउँदै आयोगले निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणको अनुमति प्रदान गरिसकेको जानकारी दिएको छ। साथै, देशभर निर्वाचनको अनुकूल वातावरण निर्माणका लागि सुरक्षा निकाय र सरकारसँग निरन्तर छलफल तथा परामर्श भइरहेको पनि आयोगले स्पष्ट पारेको छ।


