Banner Nepal
प्रहरी हस्तक्षेपपछि ‘गरिखान देऊ’ समूहको माइतीघर प्रदर्शन स्थगित

काठमाण्डौ — मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूह ‘गरिखान देऊ’ ले सोमबार माइतीघर मण्डलमा आयोजना गरेको प्रदर्शन स्थगित गरेको छ। बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको र केही सहभागीलाई नियन्त्रणमा लिएको आरोप लगाउँदै आयोजकले कार्यक्रम रोकिएको जनाएका छन्।

आयोजक समूहका सदस्य प्रकाश शर्माका अनुसार प्रहरी हस्तक्षेप र पक्राउको अवस्थापछि आजको प्रदर्शन स्थगित गरिएको हो। उनका अनुसार यही कार्यक्रम मंगलबार बिहान ११ बजे माइतीघर मण्डलमै पुनः आयोजना गरिनेछ।

समूहले सात बुँदे मागसहित प्रदर्शन गरेको थियो। मागहरूमा अहिलेसम्म भएका सबै भ्रष्टाचार प्रकरणको छानबिन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार, जेनजी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा, सहिद परिवार र घाइतेको उचित व्यवस्थापन, भदौ २३ र २४ गते भएका घटनाका दोषीलाई कारबाही तथा प्रदेश सरकारको पुनर्संरचना समेटिएका छन्।

प्रदर्शनमा समूहका संयोजक मिराज ढुंगाना पनि सहभागी थिए। युवाहरू माइतीघर पुगेपछि त्यहाँ तैनाथ प्रहरीले अनुमति नलिएको भन्दै प्रदर्शन नगर्न आग्रह गर्दै माइकिङ गरेको थियो। त्यसपछि अवस्था तनावग्रस्त बन्दै गएपछि कार्यक्रम स्थगित गरिएको आयोजक पक्षको भनाइ छ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update