काठमाण्डौ — मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज प्रदेशसभा कार्यालयमा पदभार सम्हाल्दै आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण सभाको साझा अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन्।
पदभार ग्रहणपछि उनले राजनीतिक दलहरूबीच संवाद र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै मतभेद स्वाभाविक भए पनि साझा उद्देश्यका लागि मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। प्रदेशको हितलाई केन्द्रमा राख्दै सबै दलसँग समन्वय गरेर काम गर्ने उनको भनाइ थियो।
सभामुख यादवले मधेसका मूल मुद्दा—समावेशिता, सुशासन, शिक्षा र स्वास्थ्य सेवामा पहुँच, रोजगारी सिर्जना तथा सीमावर्ती क्षेत्रका चुनौती—लाई संसदीय कार्यसूचीमा प्राथमिकताका साथ उठाइने जानकारी दिए। साथै, प्रदेशसभाले कार्यपालिकामाथि प्रभावकारी निगरानी कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र सेवाप्रवाहको गुणस्तर सुधारमा संसद् सशक्त हुनुपर्ने धारणा राखे।
प्रदेशसभालाई लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै उनले सभामुखको पद राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि रहने स्पष्ट गरे। संविधान, कानुन र संसदीय नियमावलीको पूर्ण पालना गराउँदै सभालाई जनउत्तरदायी बनाउने दायित्व आफ्नो हुने उनको भनाइ थियो।
सभामा अनुशासन, समयपालन र स्वस्थ बहस संस्कृतिलाई संस्थागत गर्न दृढ रहेको उल्लेख गर्दै उनले सांसदहरूलाई रचनात्मक भूमिकामा सक्रिय हुन आग्रह गरे। समितिहरूलाई प्रभावकारी बनाउँदै विधेयकहरूमा गहिरो छलफल, आवश्यक संशोधन र सहमति निर्माण प्रक्रियालाई सुदृढ गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे।


