अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईएसआईएस)सँग सम्बन्धित क्याम्प र हतियार भण्डारण केन्द्रलाई लक्ष्य गर्दै करिब ७० स्थानमा व्यापक हवाई हमला गरेको छ। हालै सिरियामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको जवाफी कारबाहीस्वरूप शुक्रबार यो हमला गरिएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ।
अमेरिकाले यस सैन्य कारबाहीलाई ‘अरेसन हकवाइ’ नाम दिएको छ। आक्रमणमा आईएसआईएससँग जोडिएका पूर्वाधार, रसद केन्द्र र हतियार भण्डारण स्थललाई निशाना बनाइएको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आतंककारीविरुद्ध कडा बदला लिइँदैछ भन्दै आईएसआईएसको अन्त्य भए सिरियामा उज्यालो भविष्य सम्भव हुने दाबी गरेका छन्।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले यो कारबाहीलाई युद्ध नभई बदला भएको स्पष्ट पार्दै अमेरिका आफ्ना नागरिक र सैनिकको सुरक्षामा कहिल्यै पछि नहट्ने बताएका छन्। डिसेम्बर १३ मा सिरियाको पाल्माइरा क्षेत्रमा भएको आक्रमणमा दुई अमेरिकी सैनिक र एक नागरिक अनुवादकको मृत्यु भएको थियो।
त्यसयता अमेरिका र उसका साझेदार सेनाले १० वटा छुट्टाछुट्टै कारबाही गर्दै करिब २३ जनालाई मारिसकेको जनाइएको छ। ती कारबाहीबाट प्राप्त सूचनाका आधारमा पछिल्लो हवाई हमला गरिएको सिएनएनको रिपोर्टमा उल्लेख छ। हाल सिरियामा सयौँ अमेरिकी सैनिक तैनाथ छन् भने पछिल्लो कारबाहीमा जोर्डनसहितका साझेदार मुलुकले पनि अमेरिकालाई साथ दिएका छन्।
यद्यपि, पछिल्लो आक्रमणका दोषी समूहको आईएसआईएससँगको सम्बन्ध पूर्ण रूपमा स्पष्ट भइनसकेको र आईएसआईएसले औपचारिक जिम्मेवारी नलिएको सिरियाली तथा अमेरिकी अधिकारीहरूले बताएका छन्। आक्रमणमा ज्यान गुमाएका सैनिकहरू आयोवा नेशनल गार्डका २५ वर्षीय सर्जेन्ट एडगर ब्रायन टोरेस टोभार र २९ वर्षीय सर्जेन्ट विलियम नाथानिएल हावर्ड रहेको अमेरिकी सेनाले पुष्टि गरेको छ। घटनामा थप तीन सैनिक घाइते भएका छन्।


