Banner Nepal
नेकपाले लागू गर्‍यो उम्मेदवार छनोटमा नयाँ मापदण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा तथा फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ र कडा मापदण्ड लागू गरेको छ। पार्टीले आन्तरिक परिपत्रमार्फत उम्मेदवार कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण रूपमा स्वच्छ हुनुपर्ने स्पष्ट पारेको छ।

परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले कम्तीमा २५ वर्ष र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ। उनीहरू मतदाता नामावलीमा दर्ता भएको, संविधान तथा कानूनले अयोग्य ठहर नगरेको हुनुपर्नेछ। बहालवाला राष्ट्रिय सभा, प्रदेश सभा तथा स्थानीय तहका पदाधिकारीलाई उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ।

पार्टीले आर्थिक पारदर्शितालाई प्रमुख आधार बनाएको छ। भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न नपाउनेछन्। कर तथा राजश्व अद्यावधिक, कालोसूचीमा नाम नपरेको, सम्पत्ति र आयस्रोतको स्पष्ट घोषणा गर्न तयार हुनुपर्ने अनिवार्य शर्त राखिएको छ। पार्टीको आर्थिक अनुशासन उल्लंघन गर्नेहरू पनि उम्मेदवारी प्रक्रियाबाट बाहिरिनेछन्।

सामाजिक आचरणतर्फ पनि शून्य सहनशीलताको नीति अपनाइएको छ। जातीय वा लैंगिक भेदभाव, घरेलु हिंसा, यौन उत्पीडन, मानव बेचबिखनजस्ता अभियोगमा दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुनेछन्। साथै, पार्टीको नीति–कार्यक्रमप्रति प्रतिबद्धता, आन्दोलनमा सक्रिय योगदान, सामाजिक प्रतिष्ठा र जनसमर्थनलाई पनि महत्वपूर्ण मापदण्डका रूपमा राखिएको छ।

उम्मेदवार सिफारिस गर्दा विषयगत विज्ञता, नीति निर्माण क्षमता र सार्वजनिक संवाद कौशललाई आधार बनाइनेछ। प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक युवा र एक महिलासहित बढीमा पाँच जनासम्म सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ। समानुपातिकतर्फ महिला, दलित, जनजाति, मधेसीलगायत क्लस्टरलाई अनिवार्य समेट्दै शहीद तथा बेपत्ता परिवार, द्वन्द्वपीडित र विपन्न वर्गलाई विशेष प्राथमिकता दिन निर्देशन दिइएको छ। एकै परिवारबाट एकभन्दा बढी व्यक्ति सिफारिस गर्न नपाइने व्यवस्था पनि गरिएको छ।

राष्ट्रिय सभातर्फ प्रदेशस्तरबाट प्रत्येक क्लस्टरका लागि बढीमा पाँच–पाँच जनासम्म सिफारिस गर्न सकिने प्रावधान राखिएको छ। पार्टी नेतृत्वले यी मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै स्वच्छ र जनमुखी उम्मेदवार मात्रै निर्वाचन मैदानमा उतार्ने प्रतिबद्धता जनाएको छ। परिपत्र सबै तहका कमिटीसम्म पुगिसकेको नेकपाले जनाएको छ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update