पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको केन्द्रीय समितिलाई बधाई दिएकी छन्। उनले प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुनु लोकतान्त्रिक अभ्यासको सशक्त उदाहरण भएको उल्लेख गर्दै यसले जनताको बहुदलीय जनवाद (जबज)लाई थप जीवन्त बनाएको बताएकी हुन्।
बधाइ सन्देशमा भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गर्नु एमालेको संगठनात्मक परिपक्वता र वैचारिक स्पष्टताको प्रमाण भएको उल्लेख गरेकी छन्। महाधिवेशनबाट निर्वाचित नेतृत्वले जबजको मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ मजबुत बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास व्यक्त गरेकी छन्।
उनले महाधिवेशनको प्रक्रियामा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी भएका सबै नेता तथा कार्यकर्ताप्रति आभार प्रकट गरेकी छन्। लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र अपरिहार्य प्रक्रिया भएको उल्लेख गर्दै यसले संस्थालाई थप सुदृढ र सक्रिय बनाउने धारणा पनि उनले राखेकी छन्।


